मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरी र स्थानीयबीच झडप, डिएसपीसहित सात प्रहरी घाइते

सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरी र स्थानीयबीच झडप, डिएसपीसहित सात प्रहरी घाइते


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा स्थानीयवासीहरुले आज पनि केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । 
 
राप्ती नगरपालिका वडा नम्बर ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव घर नजिकैको स्थानीय ब्रह्मास्थानी जंगलमा फेला परेपछि स्थानीयहरुले घटनाको सत्य, तथ्य र निष्पक्ष ढंगले छानबिनको माग गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् । सोही क्रममा केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको थियो । 
 
झडपमा डिएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन दर्जनौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । अश्रुग्यास प्रहार पछि प्रहरीले भीडलाई तितरबितर पारेको थियो । उनीहरुले अपरान्ह ३ बजेदेखि नै सडक अवरुद्ध गर्दै घटनामा संलग्नलाई पत्ता लगाई तत्काल पक्राउ गर्न माग गरेका छन् । 
 
महिला अधिकारकर्मी भनिने सावित्री सुवेदीको नेतृत्वमा आएको प्रदर्शनकारीले सुजिता भण्डारीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा प्रदर्शन उग्र बन्दै गरेपछि आज बेलुकाबाट कर्फ्यू लगाइएको छ। आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको छ । राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवा सम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
 
 
हिजो सोमबार पनि आफन्त र स्थानियहरुले सडक अवरुद्ध गर्दै सडकमा प्रर्दशन गरेका थिए । सोमबार दिनभर अवरुद्ध सडक करिव ९ घन्टापछि साँझ मात्र खुलेको थियो । जंगलबाट शवलाई उठाएर प्रहरीले पोष्ट मार्टमको लागि भरतपुर लैजान लागेको शव ल्याउँदै गरेको एम्बुलेन्सलाई सडकमा रोकेर स्थानीयले विरोध प्रदर्शन गरेका थिए । 
 
स्थानीय जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको थियो । शव परीक्षण गरी सत्य तथ्य पत्ता लगाइ अपराधीलाई कडा भन्दा कडा कारबाही गर्ने, पोष्ट मार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको थियो । शव पोष्टमार्टमका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ पठाइएको छ ।
 
गत असार ११ गतेदेखि हराइरहेकी सुजिता भण्डारीको शव आईतबार साँझ घर नजिकैको स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो । बिहानै ६ः०० बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन् । 
 
उनले सोही दिन दिउँसो १२ः०० बजे आफ्नो दिदी कवितालाई फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । उनको परिवारले सुजिता अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।
 
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सढे गलेको अवस्थामा फेला परेकोे थियो । वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा शव फेला परेको थियो ।

शेयर गर्नुहोस:

54
Shares