चितवन । अपहरणपछि हत्या गरिएको भनिएकी पूर्वी चितवनको सुजिता भण्डारीको काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्ज पोस्ट मार्टम भएको छ ।
स्रोतका अनुसार भण्डारीको शवको आज पोस्ट मार्टम गरेर सकिएको छ र भोलि भिसेरा परीक्षण गरिने छ । पोस्ट मार्टमको औपचारिक रुपमा रिपोर्ट आइसकेको छैन ।
यता पूर्वी चितवनमा भण्डारीको गृह नगरका स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका छन् । भण्डारीको ‘विष सेवन गरेर मृत्यु भएको’ भन्ने रिपोर्ट आएको भनि हल्ला चलेपछि स्थानीयले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शन रोक्न प्रहरीले सय भन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा दुवै तर्फका तीनरतीन जना घाइते भएका छन् । प्रदर्शन रोक्न जनपथ र शसस्त्र गरी ५०० बढी प्रहरी परिचालन गरिएको छ ।
असार ११ गते साथीको घर जान्छु भनि हिँडेकी भण्डारीको शव असार २० गते स्थानीय जंगलमा भेटिएको थियो । अपहरणकारीले भण्डारीको हत्या गरेको भनि हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै केही दिनदेखि पूर्वी चितवनमा विरोध प्रदर्शन हुँदै आएको छ ।
प्रदर्शन उग्र बनेपछि निश्चित ठाउँमा कर्फ्यु जारी
सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको हो ।
केहि घण्टादेखि भण्डारीको गृहनगर अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५०० मिटरभित्र सम्म पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मको लागि कर्फ्यु जारी गरिएको हो ।
कर्फ्यु लगाइए पनि प्रदर्शन जारी
पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रशासनले कर्फ्यु लगाए पनि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार साँझ ७ः३० बजेदेखि २४ घन्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको थियो ।
भण्डारीको गृहनगर राप्ती ३ स्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले एक सय बढी अश्रु ग्यास प्रहार गरेको थियो । अहिले चण्डेश्वरी पम्पदेखि राप्ती ३ नम्बर वडा कार्यालयसम्मको क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि सडकमा तैनाथ सुरक्षाकर्मीले सर्वसाधारणलाई पैदल हिँडडुल गर्न दिएको छैन । प्रहरीले माइकिङ गरी स्थानीयलाई घरघरमा बस्न निर्देशन दिँदै जबर्जस्ती गरेमा गोली हान्ने चेतावनी दिएको छ ।
प्रहरीले आन्दोलनकारीलाई तितरबितर पारे पनि प्रदर्शनकारीले प्रहरीलाई छलेर टायर बाल्न छाडेका छैनन् । आन्दोलनकारी र प्रहरीबीच झडप हुने हो कि भनेर स्थानीयवासी त्रसित बनेका छन् ।







प्रतिक्रिया