मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपहरणपछि हत्या गरिएको भनिएकी सुजिता भण्डारीको न्याय माग्दै नौ घन्टासम्म राजमार्ग अवरुद्ध

अपहरणपछि हत्या गरिएको भनिएकी सुजिता भण्डारीको न्याय माग्दै नौ घन्टासम्म राजमार्ग अवरुद्ध


चितवन । पूर्वी चितवनको राप्ती–३, प्रगतिनगरकी सुजिता भण्डारीको अपहरणपछि हत्या गरिएको भन्दै उनका आफन्त तथा स्थानीयवासीले न्याय माग्दै सडक अवरुद्ध गरेका छन् । ११ दिनअघि घरबाटै बेपत्ता भएकी सुजिताको न्यायका लागि आफन्त र स्थानीयवासीले नौ घन्टासम्म पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका हुन् । 
 
बेपत्ता भएको दसौँ दिनमा आइतबार साँझ वडा नं ३, धमिलीमा रहेको जयश्री ब्रह्मस्थानी सामुदायिक वनमा सुजिताको शव फेला परेको थियो । प्रहरीले घटनास्थलबाट १३ घन्टापछि सोमबार बिहान ९ बजे शव उठाएको थियो । 
 
सुजिताको शव फेला परेपछि आक्रोशित बनेका आफन्त र स्थानीयवासीहरुले उनको शवलाई अस्पताल लैजान दिएका थिएनन् । पूर्व–पश्चिम राजमार्गको झुरझुरे चोकमा राजमार्ग बन्द गरी स्थानीयवासीले अवरोध सिर्जना गरेका थिए । २४ घन्टाभित्र हत्यारा पत्ता लगाउने लिखित प्रतिबद्धता नआएसम्म शव लैजान नदिने भन्दै आफन्त तथा स्थानीयवासीहरुले झुरझुरेमै शव रोकेका थिए । 
 
घटनास्थलबाट ग २ च ९३२८ नम्बरको एम्बुलेन्समा सुजिताको शव ल्याइएको थियो । आफन्त र स्थानीयको अवरोधका कारण आइतबार दिनभरि सुजिताको शव एम्बुलेन्समै राखिएको थियो । सुजिताको अपहरण गरी हत्या गरिएको भन्दै बुबा यज्ञप्रसाद भण्डारी, आमा अम्बिका भण्डारी, दिदी कविता भण्डारी र भाइ रिजन भण्डारीसहित हजारौँँ स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । 
 
आन्दोलित बनेका आफन्त र स्थानीयवासीहरुले हत्यारामाथि कारबाहीको माग गर्दै बेपत्ता भएको लामो समयसम्म पनि प्रहरीले अवस्था पत्ता लगाउन नसकेको भन्दै प्रहरी प्रशासनविरूद्ध चर्को नाराबाजीसमेत गरेका थिए ।
 
प्रहरीले शवको पोस्ट मार्टम नगरी मृत्युको कारण यकिन गर्न नसकिने बताए पनि आफन्त र स्थानीयवासीले भने सुजिताको अपहरणपछि हत्या गरिएको दाबी गरेका हुन् । सुजिताका बुबा यज्ञप्रसाद भण्डारीले सुजिताको आत्मशान्तिका लागि पनि हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने बताए । उनले छोरी हराएकै दिन प्रहरीलाई खबर गर्दा पनि चासोपूर्वक प्रहरीले खोजी कार्य नगरेको आरोप लगाएका छन् । 
 
आफन्त र स्थानीयवासीले शव सडकमै राखेर आन्दोलन गरेपछि पोस्ट मार्टमका लागि शव भरतपुर लैजान र अवरूद्ध सडक सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, राप्तीकी मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, एसपी ओमप्रसाद अधिकारीसहित सर्वपक्षीय बैठक बसेको थियो । 
 
बैठकमा घटनाको सत्यतथ्य छानबिन गर्ने, अपराधीको तत्काल खोजी गरी कारबाही गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग पहल गर्ने निर्णय भएको थियो । शवको पोस्ट मार्टम नगरी सत्यतथ्य पत्ता नलाग्ने भएकाले पोस्ट मार्टम गरेर घटनाको बारेमा थाहा पाउन सहयोग गर्नुपर्ने बताउँदै मेयर प्रभा बरालले तत्काल अपराधी पत्ता लगाउन र दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको बताइन् । 
 
दोषीलाई कानुनी कठघरामा उभ्याउन कांग्रेसको माग 
 
नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको जनाएको छ । 
 
साथै, ९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु तथा अन्तिममा जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।
 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् । मुलुकका विभिन्न भागमा महिलाउपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटकपटक भएको उल्लेख गर्दै प्रवक्ता शर्माले यो प्रवृत्तिलाई निरूत्साहित गर्न तथा सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरूरी भइसकेको जनाएका छन् ।
 
घटनाको गहिरो अनुसन्धान र कारबाहीका लागि राज्य प्रशासनको गम्भीर तदारूकता पनि झनै विशेष बन्न बनाउन अत्यावश्यक भएको उल्लेख गर्दै उनले चितवनको घटनाको गहिराइसम्म पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराएका छन् । 
 
गृहमन्त्रीलाई ज्ञापनपत्र 
 
यसैबीच, सुजिताको मृत्यु प्रकरणले चितवनमात्र तातेको होइन, गृहमन्त्री विष्णु पौडेलको समेत ध्यानाकर्षण गराउँदै तत्काल ‘हत्यारा’लाई कारबाही गर्न माग गरिएको छ । चिल्डे«न भिजन नेपालले सोमबार गृहमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
 
भिजन नेपालका अध्यक्ष रमेश सिलवालद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गरिएको छ । विज्ञप्तिमा पीडितलाई राहतको व्यवस्था गरी महिलाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नसमेत माग गरिएको छ ।