मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मनसुनजन्य विपदमा ३८ जनाको मृत्यु, पाँच हजार विस्थापित

मनसुनजन्य विपदमा ३८ जनाको मृत्यु, पाँच हजार विस्थापित


काठमाडौँ । मनसुनजन्य विपदमा परेर पछिल्लो २० दिनमा ३८ को मृत्यु भएको छ । चौबीस बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । 
 
उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विपद्मा परेर आजमात्रै थप चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 
बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङलगायत स्थानमा आज अवरोध भएका सडक पहिरो हटाइ सञ्चालनमा ल्याउने कार्य जारी रहेको छ । केही सडक खुलेका छन् । 
 
प्राप्त विवरणअनुसार बाढीका कारण ७९० घर डुबानमा, ५१९ घर, ९० गोठ, ३९ वटा पुल, ३ विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल ८१८ वटा पशुचौपाया मरेका छन् ।
 
पछिल्लो २० दिनमा मृत्यु भएका ३८ मध्ये २० पुरुष, ११ महिला, चार बालक र तीन बालिका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका पाँच, डोटीका चार, रोल्पा र गोरखाका तीनरतीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुईरदुई, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुराका एक, एक जना रहेका छन् । 
 
विपद्मा परेर अहिलेसम्म २४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका २०, चितवनका तीन र बाजुराका एक जना छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 
 
गोरखा र धादिङमा मानवीय क्षति
 
पहिरामा पुरिएर आज गोरखा र धादिङमा गरी चार जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ का ८० वर्षीय रमन पाण्डे र श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाइएको छ । 
 
यस्तै, धादिङ जिल्लाको वेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडकमा खसेको पहिरोमा परी भारत घर भएकी ४३ वर्षीया सोनी देवी र अर्का एक पुरुषको सोही पहिरोमा खसेको ढुङ्गा लागेर एक पुरुषको पनि ज्यान गएको जनाइएको छ । 
 
उक्त पहिरोमा परी सडकमा गुडिरहेको बा १२ च ७१५६ नम्बरको म्याजिकसहित पाँच वटा सवारी साधनमा क्षति भएको छ । अन्य तीन घाइते भएका थिए । रासस

शेयर गर्नुहोस:

27
Shares