मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेस नेतृत्वका लागि कसरत सुरु, नेता निधि, सिंह र कोइरालाबीच छलफल

कांग्रेस नेतृत्वका लागि कसरत सुरु, नेता निधि, सिंह र कोइरालाबीच छलफल


काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत सुरु भएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पार्टीको १४ औँ महाधिवेशनकेन्द्रित विषयमा छलफल भएको छ ।
 
नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उनीहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिए । यसअघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशनकेन्द्रित विषयमा छलफल भएको थियो ।  
 
आगामी शुक्रबार महामन्त्री सशाङ्क कोइराला निवास टोखामा पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि दोस्रो चरणमा सभापतिका प्रयासी नेताहरुसँग पनि छलफल गर्ने नेता सिंहले बताए ।
 
साथै महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब दिने, क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र व्यस्थित बनाउन तथा पार्टीको समायोजन प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेलगायत विषयमा सहमति भएको उनले बताए । नेताहरु कोइराला, सिंह र निधि कांग्रेसका संस्थापक नेतात्रय क्रमशः विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र हुन् ।   
 
यसैबीच, यही असार ११ गते कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । 
 
सोमबार पनि नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ कोइरालाबीच महाधिवेशनलगायत विषयमा छलफल भएको थियो । वरिष्ठ नेता पौडेल र नेता सिटौला १३ औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार थिए । 
 
यही असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग चरणबद्धरुपमा छलफल सुरु गरिसकेका छन् ।
 
संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
 
त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ । रासस