बिश्व घटना

जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग

जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग


टोकियो । जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर अपराधका विरुद्धमा कारबाही गर्न नयाँ संरचना बनाउन माग गरिएको हो । 
 
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्वन्धी विद्यमान कानुनमा पनि संशोधन गर्न आवश्यक रहेको समेत जनाएको छ ।  
 
पुरानोको कानुनी व्यवस्थाका कारण कतिपय कार्यमा कठिनाइ भइरहेको र कतिपय नयाँ समस्याहरुको समाधानका लागि पुरानो कानुन अपुग भएको प्रहरीको भनाइ छ ।  
 
कानुन संशोधन र साइवर सम्वन्धी ठूला समस्या समाधानका लागि छुट्टै निकाय गठन गराउने बारेमा प्रहरीको केन्द्रीय कार्यालयबाट आन्तरिक गृहकार्य भइरहेको पनि समाचारमा जनाइएको छ । 
 
साइबर र इन्टरनेटसम्वन्धी नयाँ नयाँ र ठूला तथा गम्भीर प्रकृतिका समस्याहरु धेरै आउन थालेकाले यसका लागि दक्ष जनशक्तिसहितको छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । 
 
प्रहरीले कतिपय नयाँ विषयहरुमा पर्याप्त र प्रभावकारी अनुसन्धान गर्न नजान्दा अपराधीहरुले प्रमाण नस्ट गर्ने गरेको र दोषी पत्ता लगाउन गाह्रो भएको प्रहरीले जनाएको छ ।
 
साइबर सम्वन्धी नयाँ विभाग गठन भएमा त्यसले सूचना संकलन गर्ने, विश्लेषण गर्ने, सरोकारवालाहरुसँग समन्वय गर्ने, साइबर नीतिलाई प्रभावकारी बनाउने, साइबर अपराधहरु न्युनिकरण गर्नेलगायतका कार्यमा सहयोग पुग्ने प्रहरी अधिकारीहरुको बुझाइ छ ।  
 
चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यसमेत रहेका एक जना चिनियाँ इन्जिनियरले जापानका विभिन्न कम्पनीहरुमा साइबर आक्रमण गरेको पत्ता लागेपछि प्रहरीले यस्ता अपराधविरुद्ध कार्य गर्न छुट्टै विशेष विभागको आवश्यकता रहेको निष्कर्ष निकालेको हो । एएनआई