साओ पाओलो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ । यहाँ गत २४ घन्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो ।
ब्राजिलमा कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म ५ लाख ४ हजार ७१७ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ ।
यहाँ सन् २०२० फेब्रुरुअरी २६ बाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट नागरिकहरुको निरन्तररुपमा मृत्यु भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसैगरी, हालसम्म १ करोड ८० लाख ५४ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका पनि बताइएको छ । त्यस्तै २४ घन्टाअघिदेखिका गरी ब्राजिलमा ८७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि जानकारी दिइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही हप्ताअघि घटेको देखिएको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।
ब्राजिलको साओ पाओलो सहर सुरुदेखि नै यो संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।
यहाँका ८ करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । पछिल्लो समयमा धेरै नागरिकमा खोप लगाइएको छ तर पनि संक्रमण भने घट्न सकेको छैन । सिन्ह्वा
प्रतिक्रिया