मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विपदमा राजनीतिभन्दा ठूलो जनता हुन् : अध्यक्ष प्रचण्ड

विपदमा राजनीतिभन्दा ठूलो जनता हुन् : अध्यक्ष प्रचण्ड


चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा जनताको जीउ धन भन्दा ठूलो अरु नहुने बताएका हुन् । 
 
जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपद्मा राजनीतिभन्दा ठूलो जनता हुने बताएका हुन् । 
 
बाढीपहिरोमा परेका जनताको उद्धार र उनीहरुको व्यवस्थापनसँगै क्षति न्यूनिकरण पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने उनको भनाइ थियो । उनले भने, “विपदमा राजनीतिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नुपर्छ ।” अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरीकाले लागि परेको बताउँदै उनले यो सबै दोस्रो प्रथामिकता भएको बताए । 
 
नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आउनु भएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताए । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास बढेको उनको भनाइ थियो । अहिलेको व्यवस्थापन कम्जोर भएको भन्दै उनले नारायणी नदीको फाइदा र जोखिमको आँकलन गर्दै काम अघि बढाउनु पर्ने जानकारी दिए ।  
 
नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उनले बताए। उनले भने, “निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरु हिजोको आवश्यकतालाई मध्यनजर गरेर बनाइएका हुन । ती नीति, ऐनहरु बदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।”
 
फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गरे । उनले भने, “चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।”
 
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा विपद्को अवस्थाको बारेमा जानकारी गराएका थिए । कोरोना कहरदेखि बाढी पहिरोको अवस्थाका बारेमा जानकारी गराउँदै उनले २९ हजार परिवार प्रभावित हुने अनुमान गरिएको बताए । उनले भने, “बाढीका कारण जिल्लामा ४६ हजार जनता र २९ हजार परिवार प्रभावित हुने देखिएको छ ।” खोज तथा उद्धारका लागि आवश्यक सामग्री अपुग रहेको उनको भनाइ थियो ।
 
सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कोरोना कहरका कारण आएको समस्याका बारेमा जानकारी दिए । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले नदी नियन्त्रणका लागि वनेको गुरुयोजनाअनुसार बजेट नआउँदा काम प्रभावकारी रुपमा गर्न नसकिएको बताए ।