गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभामा शुक्रबार विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राखेको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गरेका थिए । बैठकमा ५८ सदस्य उपस्थित थिए ।
मुख्यमन्त्रीलाई उनको दल नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका दुई/दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र राजीव गुरुङले समर्थन गरेका थिए । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २७ प्रदेशसभा सदस्यले विश्वासको मतका विपक्षमा मतदान गेका थिए ।
गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार मत लिएका हुन् । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएका खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ ।
सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उनले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्ने मुख्यमन्त्री स्रोतले जनाएको छ ।
मुख्यमन्त्रीमा शपथ लिँदा उनले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गरे पनि उनीहरुको कार्यविभाजन बाँकी छ । रासस
प्रतिक्रिया