मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमालेलाई फुटबाट जोगाउन वरिष्ठ नेता खनालको आह्वान

एमालेलाई फुटबाट जोगाउन वरिष्ठ नेता खनालको आह्वान


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली जानुअघि उनले विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनास बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । 
 
रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उनको भनाइ थियो । “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ,” उनले भनेका छन्, “त्यसैले टुट–फुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौँ भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।”
 
उनले एमाले पार्टी सयौँ शहीदको बलिदान, हजारौँ योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दुसम्म आइपुगेको उल्लेख गरे । 
 
पूर्वप्रधानमन्त्री खनालले एमाले पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको जनाउँदै भनेका छन्, “तर जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौँ गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।”
 
उनले देश, लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठूला सफलतालाई स्मरण गर्नसमेत आग्रह गरेका छन् । 
 
“देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्,” उनले भनेका छन्, “त्यही अन्तरसङ्घर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेकपामा हुँदै अहिले एमालेमा परिरहेको छ ।”
 
नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गरे । 
 
उनले सबै एकजुट भएर मुलुकका मूलभूत समस्या समाधान गर्न सबैलाई आग्रहसमेत गरे । देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्त्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने उनको भनाइ छ । 
 
नेता खनालले भारतमा उपचारपछि आफू छिट्टै फर्कने विश्वास व्यक्त गरेका छन् । “सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,” उनले भने ।  
 
उनले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण चिकित्सकको सल्लाहमा आफू उपचारका लागि केही दिनका लागि देश बाहिर जान थालेकोसमेत जानकारी गराए । नेता खनाललाई नेपाल वायु सेवा निगमको जहाजबाट भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लगिएको छ । रासस