मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेलम्चीको बाढीमा ३९ बेपत्ताको खोजी कार्य जारी

मेलम्चीको बाढीमा ३९ बेपत्ताको खोजी कार्य जारी


मेलम्ची । अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३९ जना बेपत्ता भएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार २४ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् । 
 
यस्तै, मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना बेपत्ता भएका छन् । वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । 
 
तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । 
 
निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । 
 
आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।  मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो । 
 
जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तीन वटा हेलिकोप्टर आएका छन् ।  विपत्तिबारे गृह मन्त्रालयबाट  खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ । 
 
थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गरेको जनाइएको छ । रासस