मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विपद्सम्बन्धी प्रतिकार्य योजना पारित, राहत, उद्धार र पुनःस्थापन प्रभावकारी बनाइने

विपद्सम्बन्धी प्रतिकार्य योजना पारित, राहत, उद्धार र पुनःस्थापन प्रभावकारी बनाइने


काठमाडौँ । गृहमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८’ पारित गर्दै उद्धार, राहत र पुनःस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । 
 
मनसुन भित्रिएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धनजनको क्षति भएको सन्दर्भमा समितिले सबै निकायसँग समन्वयात्मक रुपमा जोखिम न्यूनीकरण, राहत वितरण तथा उद्धारमा लाग्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
 
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख गोविन्द रिजालका अनुसार मुख्यतः कसरी धनजनको क्षति कम गर्न सकिन्छ, सहीरुपमा विपद्को सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए । 
 
बैठकमा गृहमन्त्री खगराज अधिकारीले मन्त्रालयबाट स्रोत/साधनमा कुनै कमी हुन नदिने स्पष्ट पार्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन् । 
 
मन्त्री अधिकारीबाट मुख्यगरी सरकारी निकायको कमजोरीका कारण कसैको पनि ज्यान नजाओस् भनेर गम्भीरताका साथ लाग्न मातहतका निकायलाई निर्देशन भएको प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जानकारी दिए ।
 
उनका अनुसार बैठकले प्रतिकार्य योजनासहित केही कार्यविधि समेत पारित गरेको छ । अब बाढी÷पहिरो प्रभावितले झैँ आगलागी र डढेलो पीडितका लागि राहत तथा पुनःस्थापन कार्यक्रम अघि बढाउने गरी कार्यविधि पारित भएको उनले बताए । बैठकमा सिन्धुपाल्चोकको मेलम्ची, मनाङलगायत जिल्लामा भएको क्षतिको अवस्थाबारे समीक्षा भएको थियो ।
 
आज पारित विपद प्रतिकार्य योजनामा मुख्यगरी पहिरोको वडास्तरीय नक्सा तयार पारी जोखिम न्यूनीकरणका कार्यक्रम समावेश छ । यस्तै  बाढी र कोभिड तथा पहिरोको र कोभिडको जोखिम पहिचान गरी नक्सासमेत तयार पारिएको छ । 
 
मानिसको सुरक्षित अवतरणका लागि खुला स्थानको पहिचान गरी आवश्यक तयारी गरिएको छ । मुलुकका विभिन्न क्षेत्रमा १५५ वटा खुला स्थान तय गरिएको छ । आवास पुनःनिर्माण तथा पुनस्थापन कार्यक्रमलाई प्रभावकारी बनाउने गरी अघि बढाइएको छ । 
 
आपत्कालीन कार्यका लागि स्रोत साधनको विवरण संकलन तथा व्यवस्थापन र परिचालनका आवश्यक तयारी पनि यसमा समावेश गरिएको छ । 
 
मन्त्रालयका विषयगत समितिलाई समेत परिचालन गर्ने गरी प्रतिकार्य योजना निर्माण गरिएको प्राधिकरणले जनाएको छ । मनसुन सुरुवाती कै समयमा मनाङ र सिन्धुपाल्चोकमा परेको भारी वर्षाले ठूलो धनजनको क्षति भएको छ । अहिले पनि मुलुकका धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
यसैबीच, प्रधानमन्त्री अध्यक्ष रहने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै छ । अहिले केही बेरमा सुरु हुने बैठकमा मुलुकभर भएका विपद्जन्य घटनाका विषयमा समीक्षा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जानकारी दिए । रासस