मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा


ब्रसेल्स । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुगेका छन् । 
राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श गर्नेछन् ।  
 
हाल ३० वटा मुलुक सदस्य रहेको नेटोसँग सम्बन्ध पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चिस्सिएको थियो । सोमबार हुने नेटो शिखर बैठकमा राष्ट्रपति बाइडेनले चीन र रसियाका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न व्यापक समन्वयका लागि युरोपेली मुलुकहरुलाई आश्वस्त पार्नेछन् ।   
 
बाइडेनले आर्थिक र राष्ट्रिय सुरक्षाका मामिलामा रसिया र चीनबाट भइरहेका हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने पहिल्यैदेखि बताउँदै आएका छन् । 
 
बाइडेनले नेटो गठबन्धनको घोषणापत्रको धारा ५ मा व्यक्त अमेरिकी प्रतिबद्धताप्रति पुनः जोड दिनेछन् । यस धारामा कुनै पनि एक सदस्य मुलुकमाथि आक्रमण भए सबै सदस्य मुलुकमाथि आक्रमण भएको मान्यता राख्छ र त्यसको सामूहिक प्रतिबाद गरिने छ भन्ने उल्लेख छ । 
 
गत साता पनि बेलायतमा रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले नेटो गठबन्धन र धारा ५ प्रति अमेरिका पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
 
राष्ट्रपति बाइडेन हाल युरोपेली मुलुकको आठ दिने भ्रमणमा छन् । उनले यसअघि नै बेलायतको कोर्नवालमा आयोजित विश्वका जी–७ को बैठकमा सहभागिता जनाएका थिए । राष्ट्रपति बाइडेनले जेनेभामा बुधबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्नु हुनेछ । एपी