मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्यानमारका आप्रवासीहरुद्वारा जी–७ सम्मेलनमा प्रदर्शन

म्यानमारका आप्रवासीहरुद्वारा जी–७ सम्मेलनमा प्रदर्शन


टोकियो । प्रभावशाली सात देशका शीर्ष नेताहरु सहभागी भएको जी ७ को सम्मेलनस्थलमा म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् । 
 
बेलायतमा बसोवास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउन माग गर्दै सम्मेलनस्थलमा प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ । 
 
बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यानमारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी ७ का नेताहरुलाई आग्रह गरेका थिए । प्लेकार्डसहित उपस्थित भएका उनीहरुले म्यानमारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए । 
 
प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने, “म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनस्र्थापनाका लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी ७ का नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौँ, त्योअनुसार केही काम हुने अपेक्षा गरेका छौँ ।” 
 
प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए । 
 
म्यानमारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागू भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ । 
 
हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनुपरेको स्पष्ट पार्ने गरेको छ । 
 
त्यतिबेलाको निर्वाचन निष्पक्ष नभएकाले अब निष्पक्ष निर्वाचन गराउने सेनाको दाबी छ । त्यसका लागि एकवर्षे संकटकालसमेत घोषणा गरिएको छ । 
 
सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यानमारका नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ । एएनआई