मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपत्यकामा एक साता निषेधाज्ञा थप : केही सेवामा सहजीकरण

उपत्यकामा एक साता निषेधाज्ञा थप : केही सेवामा सहजीकरण


काठमाडौँ । काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । 
 
काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको आदेश थप गर्ने निर्णय गरेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिए ।
यसपालिको आदेशमा भने अत्यावश्यक खाद्य सामग्री खरीद/विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ ।  
 
यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स (ग्रोसरी मात्र) खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । 
 
यसपटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विगतमा पुस्तक पसल खोल्न दिइएको थिएन । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत्, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइने छ ।  
 
अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अबे सेवा होम डेलिभरीका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । 
 
कृषि कार्यका लागि भने सहजीकरण गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीऊ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा उल्लेख छ ।  
 
यस्तै अत्यावश्यक  उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रुपमा कामदार राखेर सञ्चालन गर्न सकिनेछ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । शैक्षिक संस्थाहरुले अनलाइनमार्फत पठनपाठन गराउन सक्नेछन् । 
 
नेपाल राष्ट्र बैँकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सीमित संख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ ।  
 
यसअघि सीमित कार्यालय मात्रै खोल्न पाइने थियो । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइनेछ । 
 
यसैगरी अन्य भिडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी कुरामा यसअघिको आदेशमा उल्लेख भएअनुसार हुने जनाइएको छ । अत्यावश्यक र पासबाहक बाहेकका सवारीसाधन असार ७ गते राति १२ बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ । उक्त निर्णय सोमबार राति १२ बजेदेखि लागू हुनेछ । अत्यावश्यक काममा बाहेक मानिस हिँडडुल गर्न पाउने छैनन् । रासस