मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अर्थमन्त्री पौडेलको बढुवा, तीन उपप्रमसहित नयाँ मन्त्रीले लिए शपथ

अर्थमन्त्री पौडेलको बढुवा, तीन उपप्रमसहित नयाँ मन्त्रीले लिए शपथ


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । 
 
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा शुक्रबार जनता समाजवादी पार्टी नेपालका तर्फबाटसमेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।
 
नवनियुक्त तीन उपप्रधानमन्त्रीमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र सहरी विकाससहित राजेन्द्र महतो छन् । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम भएका छन् भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त भएका छन् । 
 
नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिए । नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आएका छन् । 
 
राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त भएका छन् । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिएका छन् । 
 
एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहेका छन् । 
 
उपप्रम पौडेल र महासेठबाट पदबहाली
 
यसैबीच, नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज पदबहाली गरेका छन् । त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले पनि आजै परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका छन् । उनलाई परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।