मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

संस्थापक थापाको निधनमा विवेकशील साझाको शोक वक्तव्य

संस्थापक थापाको निधनमा विवेकशील साझाको शोक वक्तव्य


काठमाडौँ । विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ । पार्टी केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
 
बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा मंगलबार जारी शोक वक्तव्यमा उल्लेख छ ।
 
दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भएको हो । पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको पनि वक्तव्य उल्लेख छ ।
 
नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ,  ‘खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उनको अहम् भूमिका छ ।’
 
संस्थापक थापाले अँगालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाएको छ । पार्टीले पीडाका क्षणमा परिवारजनमा समवेदना व्यक्त गर्दै उपचारका क्रममा स्वास्थ्यलाभ कामना गरी स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि सबैमा आभार व्यक्त गरेको छ ।
 
सिर्जनशील व्यक्तित्व थापाको निधनमा दुःख व्यक्त
 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले फरक राजनीतिक संस्कृतिले नै उज्ज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् । 
 
‘नेपाली राजनीतिमा फरक धारको आगमन सम्भव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्ज्वल थापाको दुःखद् निधनले देश र समाजलाई अपूरणीय क्षति भएको छ’, राप्रपा अध्यक्ष राणाले मंगलबार ट्वीट गर्दै भनेका छन् । ‘यही फरक राजनीतिक संस्कृतिले नै थापालाई चिरस्थायी बनाइरहने विश्वास उनले व्यक्त गरेका छन् । 
 
नेपाली राजनीतिमा ठूलो क्षति :देउवा
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
 
युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा निधन भएपछि सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 
 
उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल  थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाएका छन् । 
 
थापाको अभाव लामो समय महसुस हुनेछ : एमाले
 
नेकपा (एमाले) ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ ।  
 
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनी नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ । 
 
एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उनीप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ । 
 
थापाको निधनमा दुःख व्यक्त
 
प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 
 
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि  फरक तरिकाबाट छोटो समयमै आफ्नो ‘राजनीतिक अभियान’प्रति धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।