मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा घट्यो कोरोना संक्रमण, घटेन मृत्युदर

नेपालमा घट्यो कोरोना संक्रमण, घटेन मृत्युदर


काठमाडौँ । नेपालमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अझै पनि कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ ।
 
पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भए पनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ ।
 
सङ्क्रमण दरमा केही कमी देखिएको भए पनि अधिकांश सङ्क्रमित होम आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन् ।
 
सोमबार १५ हजार ५५ पिसिआर र दुई हजार ४२५ एन्टीजेन गरी कुल १७ हजार ४८० नमुना परीक्षण गर्दा चार हजार ७६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पाँच लाख ६१ हजार ३०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  
 
सङ्क्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत रहेको छ । एक लाख ६ हजार ४७० सङ्क्रमित आइसोलेसनमा छन् । सोमबार छ हजार ४९१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख ६ हजार ४७० रहेका छन् ।