मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो

अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो


गलकोट । बागलुङ जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भए पनि केही सङ्क्रमित लक्षणसहितका छन्  । कोरोनाको लक्षण देखिँदासमेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् । 
 
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन सङ्क्रमितको मृत्यु भएको छ । उनीहरु अन्तिममा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो । बागलुङमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ भने सक्रिय सङ्क्रमित ९६५ पुगेका छन् । 
 
कोरोनाको गम्भीर लक्षण देखिँदासमेत सङ्क्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी मृत्यु भएको घिमिरेले बताए । 
 
‘अक्सिजन लेवलको विषयमा जानकारी नराख्ने, लक्षण देखिँदासमेत घरमै बस्ने, एक्कासि बेहोस भई ढल्दा अथवा श्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ’, घिमिरेले भने, ‘अक्सिजन लेबल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भए पनि अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्यु हुने सम्भावना बढी देखियो ।’ 
 
प्रत्येक सङ्क्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा संलग्न धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । ‘केही बिरामीमा निकै कडा लक्षण देखिन्छ जसका कारण उसको निमोनियासमेत घटाउन कठिन हुन्छ’, पोखरेलले भने, ‘केहीले अझै कोरोना लुकाउनुभएको छ त्यसकारण भित्रभित्र उहाँको अवस्था गम्भीर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही सुरूमै अस्पताल आए पनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोगसमेत भएका कारण मृत्यु भएको पाइएको छ ।’
 
पोखरेलका अनुसार सङ्क्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्र्पकमा रहने, शारीरिक व्यायाम गर्ने तथा श्वासप्रस्वासको विषयमा जानकारी लिने, स्वास्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउँदा सहज हुनेछ । घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्सिजन परीक्षण नगर्नु तथा एक्कासि समस्या भएपछि मात्रै स्वास्थ्यकर्मीसँगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ ।  
 
शुक्रबार दुईको धौलागिरी अस्पताल र एकको ढोरपाटन कोरोना अस्पातलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ । यस्तै, जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरूषको मृत्यु भएको हो । बिहीबार बडिगाडमा कोरोना शंकास्पद पुरूषको समेत अस्पताल आउनासाथ मृत्यु भएको थियो । रासस