मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा कोरोना सङ्क्रमित घट्दो क्रममा

चितवनमा कोरोना सङ्क्रमित घट्दो क्रममा


चितवन । कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको  छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।
 
जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । उनका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।
 
कार्यालयको तथ्याङ्कअनुसार वैशाख २४ गते ४ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । वैशाख  ३० गते ७ सय ७३ को  परीक्षण गर्दा ३ सय ५१ जनामा सङ्क्रमण देखियो । अहिले यो घट्दै आएको उनले बताइन् । वैशाख ३१ गते देखि विस्तारै सङक्रमित घट्दै गएका छन् । वैशाख ३१ गते २ सय ३० मा रहेको  सङ्ख्या विस्तारै घट्दै जेठ ६ सम्म आइपुग्दा दैनिक १५० हाराहारीमा पुग्यो । उनले भनिन्, “अहिले सङ्क्रमित सय देखि डेढसय हाराहारी छ ।”
 
वैशाख २८ देखि जिल्लामा एण्टीजिनको प्रयोगमार्फत कोरोना सङ्क्रमित छुट्याउन थालिएको छ । सोमार्फत जिल्लामा हालसम्म एक हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दोस्रो चरणको सङ्क्रमणका कारण वैशाख १८ देखि यता ५ हजार ३ सय ८१ जना सङ्क्रमित भइसकेका छन् । 
 
जिल्लामा हालसम्म १३ हजार ३६३ जना सङ्क्रमित भइसकेका छन् जसमध्ये ४ हजार ८८५ जना सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये १ सय ५८ अस्पतालको आइसोलेसनमा छन् भने ४ हजार ६ सय ८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।
 
कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार सुरुआती समयमा परीक्षण गरिएकामध्ये ५० प्रतिशत सङ्क्रमित आउने गरेकोमा अहिले एक सातादेखि २० देखि २५ प्रतिशतमा घटेको छ । नयाँ आउने घटेको भएपनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी भएकाले अझै जोखिम कम नभएको उनले बताए । 
 
सक्रिय सङ्क्रमित १ हजार भन्दा कम नभएसम्म जिल्लामा जोखिम कम नहुने उहाँले जानकारी दिनुभयो । निको भएर घर फर्कन दैनिक ५० हाराहारी छन् । उनले भने, “सङ्क्रमित घर फर्कन थालेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि कम हुँदै गएको छ ।” निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको उनले बताए । 
 
जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उनको बुझाइ छ । कोरोना कहरका कारण जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।  सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना सङ्क्रमण धेरै देखिएको उनले बताए । रासस