मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड–१९ को संक्रमण दर घट्यो, मृत्यु दर घटेन

भारतमा कोभिड–१९ को संक्रमण दर घट्यो, मृत्यु दर घटेन


नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । 
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ । 
 
तर, दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घन्टाको अवधिमा ४१५७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ । 
 
भारतमा हाल कोभिड–१९ का २४ लाख ९५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोभिबाट संक्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ९५५ जना संक्रमणमुक्त भएसँगै भारतमा हालसम्म कूल २ करोड ४३ लाख ५० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।
 
भारतमा कोभिड–१९ बाट संक्रमणमुक्त दरमा सुधार भएर ८९.६६ प्रतिशत पुगेको छ । देशभर कोभिड–१९ बाट हालसम्म संक्रमित हुनेको कूल संख्या २ करोड ७१ लाख ५७ हजार रहेको छ । 
 
साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार २२ करोड १७ लाख नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ । एएनआई