मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप दस लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

थप दस लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा


काठमाडौँ । चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड–१९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । 
 
त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गरिन् । 
 
कोभिड–१९ विरुद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले यसअघि पनि चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराएकामा आभार व्यक्त गरिन् । नेपाललाई चीनबाट कोभिड–१९ विरुद्धको खोप खरिदमा सहजीकरणका निम्ति पनि उनले आग्रह गरिन् ।
 
दोस्रो लहरको महामारीका कारण नेपालले सामना गर्नुपरेको कठिन परिस्थितिलाई स्वीकार गर्दै राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा चीन सरकारको पूर्ण सहयोग रहने बताए । उनले खोप सहायतामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन पनि दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 
अहिलेको कठिन परिस्थितिमा थप खोप सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको नयाँ घोषणाका निम्ति उनीप्रति आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लडिरहँदा चिनियाँ सहयोग जारी रहने विश्वास व्यक्त गरे । रासस

शेयर गर्नुहोस:

27
Shares