मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा सुरु

चितवनमा टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा सुरु


चितवन । कोरोना सङ्क्रमण ग्रामीण क्षेत्रसम्म फैलिएपछि चेम्बर अफ कमर्स चितवनले टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा सुरु गरेको छ । चेम्बरले १६ जना चिकित्सकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेर सेवा सुरु गरेको हो । रेडियो कार्यक्रममार्फत पनि सेवा दिइएको छ ।
 
चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार विभिन्न विधाका १६ चिकित्सकको नम्बर सार्वजनिक गरिएको छ । फिजिसियन, प्रसूतिरोग, सर्जन, हाडजोर्नी, मनोरोग, बालरोगलगायतका विधाका चिकित्सकको नम्बर सार्वजनिक गरिएको हो । संस्थाले नयाँ मोबाइल नम्बर उपलब्ध गराएको हो । ती चिकित्सकको नाम सामाजिक सञ्जाल र विज्ञापन गरी ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणलाई उपलब्ध गराइएको छ ।
 
श्रेष्ठका अनुसार सोमबारबाटै सेवा शुरु भएको छ । उनले भने, “चिकित्सकलाई टेलिफोन आइरहेको छ ।” कोभिड सङ्क्रमणसँगै जिल्लामा निषेधाज्ञा भएपछि सर्वसाधारण चिकित्सकसम्म पुग्न नसक्ने अवस्था आएपछि चेम्बरले यो अभियान सञ्चालन गरेको हो । स्वास्थ्यसम्बन्धी जुनसुकै समस्या भएपछि चिकित्सकको परामर्श लिन सकिने छ । सर्वसाधारणले आफूलाई भएको रोगका आधारमा चिकित्सकसँग परामर्श गर्न सक्नेछन् ।
 
सामान्य अवस्थामा अस्पताल आउन नपर्ने गरी सेवा दिन लागिएको श्रेष्ठले बताए । निषेधाज्ञा लागेपछि अस्पतालका बहिरङ्ग सेवा बन्द छन् । सहरका अस्पतालसम्म आउन सवारी साधनको अभाव छ । दीर्घरोगीहरुको औषधिसमेत सकिएकाले यो अभियान प्रभावकारी हुने जनाइएको छ । अधिकांश सङ्क्रमित होमआइसोलेसनमा रहेकाले पनि सेवा प्रभावकारी हुने श्रेष्ठ बताउँछन् । 
 
यसैगरी चेम्बरले भरतपुरको कालिका एफएम र सिनर्जी एफएममा चिकित्सकसहित कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रममा बिरामी वा सङ्क्रमितले आफ्नो परिचय गोप्य राखेरै समस्या राख्न सक्नेछन् । उनका अनुसार अन्य रेडियोहरूमा पनि कार्यक्रम गर्ने तयारी गरिएको छ । रासस