मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपतिद्वारा मध्यरातमा संसद् विघटन, मध्यावधि चुनाव घोषणा

राष्ट्रपतिद्वारा मध्यरातमा संसद् विघटन, मध्यावधि चुनाव घोषणा


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी छन् । 
 
मन्त्रिपरिषद्को सिफारिसमा उनले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते गर्ने गरी दुई चरणमा चुनाव घोषणा गरेकी हुन् ।
 
मन्त्रिपरिषद् बैठकले मध्यरातमा बसेर संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
 
संविधानको धारा ७६ (७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’
 
त्यस्तै संसद् भंग गर्नुपूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबीलाई अस्वीकार गरेकी थिइन् ।
 
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले शुक्रबार दाबी पेश गरेका थिए । 
 
देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । उता ओलीले भने एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।
 
राष्ट्रपतिले दुबैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णयविपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् । सो निर्णय गरेको केही बेरमा उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी हुन् ।