मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दाबी नपुग्ने ठहर

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दाबी नपुग्ने ठहर


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् ।  
 
राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ । 
 
विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा (एमाले) का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दाबी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दाबीकर्ता कांग्रेस सभापति  देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ । 
 
त्यस्तै, सभापति देउवालाई कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र) का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 
दाबीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णयविपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ । 
 
राष्ट्रपतिले बिहीबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी थिइन् । 

शेयर गर्नुहोस:

135
Shares