मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा ५० प्रतिशतले अझै मास्क लगाउँदैनन् : अध्ययन

भारतमा ५० प्रतिशतले अझै मास्क लगाउँदैनन् : अध्ययन


नयाँ दिल्ली । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ ।
 
राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, “हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।” 
 
उनले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएकोसमेत जानकारी दिए । देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु रहेको पनि उनले बताए । 
 
सहसचिव अग्रवालका अनुसार अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेका छन् । कर्नाटक, पश्चिम बंगाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उनले बताए ।
 
“कुनै एउटा व्यक्तिले सामाजिक दुरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,” उनले भने । अध्ययनका आधारमा पनि उनले सामाजिक दूरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिए । 
 
भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
योसहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोरोनाभाइरसको दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । 
 
भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी हुनसक्ने विज्ञहरुले दाबी गरेका छन् । 
 
भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या भने घटेको देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन् । 
 
भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् । एएनआई