काठमार्डौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका छन् ।
वर्तमान प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गरेको उनका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
दाबीपत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मका लागि समय दिएकी थिइन् ।
विपक्षी दलहरु कांग्रेस र माओवादी केन्द्रले पनि आफूहरुसँग सरकार बनाउन आधार पुग्ने दाबी गरेको जनाइएको छ । रासस








प्रतिक्रिया