काठमाडौँ । सर्वोच्च अदालतले सांसद् नभएका सात मन्त्रीको नियुक्ति बदर गरेकै दिन अर्थात् बिहीबार राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटासँग गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन् ।
बिहीबार भएको उपनिर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपाल निकट रहेका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।
बिहीबार नै प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासले बादलसहित सातजना मन्त्रीलाई सांसद् पद नरहेको भन्दै नियुक्ति बदर गरेको थियो ।
सांसद् नभएका व्यक्ति एकपटकलाई बढीमा ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था भए पनि पुनः नियुक्ति पाएपछि उनीहरुको नियुक्तिविरुद्धमा सर्वोच्चमा रिट दायर भएको थियो ।
सर्वोच्चको यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, युवामन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी मन्त्री पदबाट मुक्त भएका छन् । अब उनीहरु पुनः मन्त्री बन्नका लागि प्रतिनिधिसभा वा राष्ट्रियसभाबाट निर्वाचित हुनुपर्ने प्रावधान छ ।








प्रतिक्रिया