काठमाडौँ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरिएको छ । दासढुङ्गामा औपचारिक कार्यक्रम नभए पनि उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
नेकपा (एमाले) जिल्ला कमिटीले बिहान भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा रहेको नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताइन् । उनका अनुसार न्यून सङ्ख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
यसैगरी मदन भण्डारी फाउन्डेसनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ । फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाललगायतको उपस्थितिमा नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरिएको हो ।
विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव सोही दिन दासढुङ्गास्थित त्रिशूली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजिपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।
फाउन्डेसनले दासढुङ्गा र गाँजीपुरको विकासका लागि पहल गर्दै आएको छ । यी दुवै ठाउँलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न विभिन्न निर्माणका काम भइरहेका छन् ।








प्रतिक्रिया