मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहुमतको सरकार गठन गर्न राष्ट्रपति भण्डारीको आह्वान्

बहुमतको सरकार गठन गर्न राष्ट्रपति भण्डारीको आह्वान्


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान् गरेकी छन् ।  
 
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरे राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दावी पेश गर्न आहृवान गरेकी हुन् । 

 
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गरेका थिए । 
 
तीन दलले संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओली पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गरेका थिए । 
 
आजै प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्ताव असफल भएको थियो । 
 
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक रहेकोमा प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।  
 
बैठकमा २३२ सांसद् उपस्थित रहेकोमा विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले)लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव अस्वीकृत भएको हो । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद् मतदानमा अनुपस्थित रहेका थिए ।  
 
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु निष्ठाको द्योतक भएको चित्रण गरेका छन् । नेता नेपालसहित २८ सांसदहरूले आज पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएनन् ।