काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताएका छन् ।
पूर्वउद्योगमन्त्री जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित ‘श्रद्धाञ्जली सभा’मा उनले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताए ।
“लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किने छ”, उनले भने । पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताका घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।
नेता पौडेलले उद्योगमन्त्री हुँदा जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभागलगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गरे । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए ।
कांग्रेस नेता प्रकाशमान सिंहले जोशी पार्टीका नेतामात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताए । “जोशी मूल्यमान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता हुनुहुन्थ्यो”, उनले भने । नेपाली कांग्रेसमात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता जोशीमा रहेको उनको भनाइ थियो ।
नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न जोशीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तररुपमा अगाडि बढाएमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए ।
प्रतिष्ठानका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताए । जोशीको योजनानुसार नै प्रतिष्ठानलाई अगाडि बढाइने उनको भनाइ थियो । प्रतिष्ठानका सचिव डा. भूपेन्द्र बस्नेतले जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताए । प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले जोशी युवा जोश भएको जाँगरिलो नेता भएको बताए ।
स्व जोशीकी धर्मपत्नी सपना जोशीले नेता जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको बताए । कांग्रेस नेता राजुराज जोशीले स्व जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताए । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता जोशी भएको उनको भनाइ थियो ।
विसं २०१९ मा काठमाडौँमा जन्मिएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो । रासस
प्रतिक्रिया