मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय ऐक्यबद्धता कायम गरी कोभिड नियन्त्रणमा लाग्न आग्रह

राष्ट्रिय ऐक्यबद्धता कायम गरी कोभिड नियन्त्रणमा लाग्न आग्रह


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता कायम गरी अर्थपूर्ण कदम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।  
 
कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता कायम गर्ने गराउने सन्दर्भमा आयोगले सरकारको विशेष ध्यानाकर्षण गराएको हो ।
 
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमितको उपचारार्थ सरकारका सम्पूर्ण संयन्त्र, प्रदेश तथा स्थानीय सरकारलाई परिचालन गर्नाका साथै राजनीतिक दललाई समेत एक हुन आग्रह गरिएको छ ।      
 
कोभिड–१९ का कारणले उत्पन्न सबै असरको सम्बोधन गर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्न आयोगले आग्रह गरेको छ । 
 
त्यस्तै न्यून आर्जन भएका श्रमिक तथा ज्यालामजदूरी गरी जीवनयापन गर्ने वर्गका लागि जीविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न गराउन  पनि आयोगले सरकारलाई  निर्देशन गरेको छ ।
 
आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट अनुगमन गरी सरकारलाई ध्यानाकर्षणसहितको पत्राचार गरिएको छ । आयोगबाट गरिएको अनुगमनबाट प्राप्त तथ्य र सूचनाका आधारमा अस्पताल  संक्रमितले भरिभराउ भएको, शय्या नपाएर अस्पताल बाहिरसमेत बिरामी बस्नुपरेको तथा बढी संख्यामा संक्रमित भएका स्थानमा अक्सिजनको अभाव रहेको पाइएको छ ।
 
त्यस्तै, निजी अस्पतालले बिरामी भर्ना नलिएको, भर्ना लिएका अस्पतालले संक्रमितबाट चर्को शुल्क असुल गरिरहेको र तिनलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण, रेम्डिसिभरलगायत औषधिको चर्को मूल्यमा बिक्रीवितरण भइरहेको एवं सीमाक्षेत्रबाट अनियन्त्रित तथा अव्यवस्थित तरिकाबाट नेपाल प्रवेश र अन्य व्यवस्थापनको कमजोरीका कारणले संक्रमण स्थानीयस्तरसम्म पुग्ने अवस्था रहेको अनुगमनबाट पाइएको छ । रासस