मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । 
 
पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।
 
पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मिएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । उनले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१/०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् ।
 
विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ ।
 
उनका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उनी सङ्गीतमय वातावरणमा हुर्किएका थिए । उनी किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आएको पारिवारिक स्रोतले जनाएको छ । 
 
उनले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाएका थिए । उनका श्रीमती र दुई छोरा छन् । रासस