वासिङ्टन । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ ।
सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।मुटुसम्बन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् ।
अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्बन्धी समस्या र मुटुसम्वन्धी समस्या देखिने गरेको अध्ययनकर्ताको भनाइ छ ।
बालबालिकासम्वन्धी १४ ओटा अध्ययनलाई एकीकृत गरी यो निष्कर्ष निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुले दाबी गरेका छन् । अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागिता रहेको थियो ।
“विगतमा भएका अध्ययनमा बालबालिकाको स्वास्थ्य र वायु प्रदूषणको सम्वन्धका बारेमा हामीले शुक्ष्म विश्लेषण गरेका हौँ, त्यसबाट हामीले यी दुई पक्षका बीचमा प्रत्यक्ष र घनिष्ट सम्बन्ध देखेका छौँ,” अध्ययनका एक जना लेखक तथा लण्डनको किङ्गस कलेजका प्राध्यापक याओ लु (पिएचडी) ले भने ।
दुई पक्षको सम्बन्ध प्रष्ट पार्ने धेरै प्रमाण आफूले भेटेको उनले बताए । लामो र छोटो अवधिमा अध्ययन पनि गरिएको थियो । त्यसैगरी बिहान, दिउसो, साँझ र रातिमा पर्ने असरका बारेमा पनि विश्लेषण गरिएको छ । अहिले विश्लेषण गरिएका विगतका अध्ययन सन् २०२० को सेप्टेम्बर ६ देखि प्रकाशित भएका थिए । एएनआई
प्रतिक्रिया