मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा थप २५५ जनामा कोरोना संक्रमण, २२१ जना अस्पताल भर्ना

चितवनमा थप २५५ जनामा कोरोना संक्रमण, २२१ जना अस्पताल भर्ना


चितवन । चितवनमा पछिल्लो २४ घन्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
 
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका ११५ जना, रत्ननगर नगरपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १० जना, माडी र राप्ती नगरपालिकाका तीन/तीन जना र कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा बुधबारसम्मको संक्रमितको संख्या आठ हजार ७०० नाघेको छ । 
 
चितवनमा दैनिक २०० भन्दा बढी संक्रमित थपिँदै गएपछि अस्पतालका आइसोलेसन पनि भरिभराउ भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्ममा चितवनका चारवटा अस्पतालले कोरोना संक्रमितको उपचार गराउँदै आएका छन् । 
 
चितवनको केन्द्रीय भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजले संक्रमितको उपचार गरिरहेका छन्। बुधबारको तथ्यांक हेर्दा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाहेक बाँकी तीनवटै अस्पतालमा संक्रमितको उपचार भइरहेको छ । 
 
भरतपुर अस्पतालमा १०१ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३९ जना र चितवन मेडिकल कलेजमा ८१ जना गरी २२१ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए।
 
उनका अनुसार २२१ जनामध्येमा पनि १२ जना भेन्टिलेटरमा छन् भने ४९ जना आइसियूमा उपचाररत छन्। एचडियूमा ४३ जना छन् भने ११८ जना जनरल वार्डमा उपचाररत छन् । 
 
यी अस्पतालमा उपचाररत संक्रमित चितवन बाहिरका पनि हुन् । चितवनमा एक हजार ६४० जना सक्रिय संक्रमित हुँदा ९० जना अस्पताल भर्ना भएका छन् । बाँकी १३१ जना चितवन बाहिरका संक्रमित हुन् । चितवनका एक हजार ५५० जना भने होम आइसोलेसनमा छन् ।
 
चितवनमा एकैदिन १० जनाको मृत्यु
 
चितवनमा बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा चितवन मेडिकल कलेजमा पाँच जना, भरतपुर अस्पतालमा चार जना र कलेज अफ मेडिकल साइन्सेसमा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
 
महिलाभन्दा पुरुष बढी प्रभावित
 
कोरोना भाइरसबाट महिलाको तुलनामा पुरुष बढी प्रभावित छन् । हालसम्मको तथ्यांक हेर्दा संक्रमित पुरुषको संख्या पाँच हजार ३२ पुगेको छ भने संक्रमित महिलाको संख्या तीन हजार ६६३ पुगेको छ। 
 
संक्रमितमध्ये पनि चितवन जिल्लामा मात्रै हालसम्म १२४ जनाले ज्यान गुमाइसकेका छन्। मंगलबारसम्ममा मृतकको संख्या १२१ थियो भने बुधबार थप तीनजनाको मृत्यु भएपछि १२४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।