मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्न सिफारिस

भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्न सिफारिस


काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्न सिफारिस गरेको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिस गरेको जनाइएको छ । 
 
उक्त सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो ।
 
यसैबीच, शुक्रबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सरकारलाई सुझाव दिएका थिए । 
 
सभापति देउवाले शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा  पत्रकार सम्मेलन गर्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न सरकारसँग माग गरेका थिए ।  
 
परीक्षणका क्रममा कोरोना सङ्क्रमितलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई सुझाव दिएका हुन् ।
 
सीमामा अवैध आवागमन रोक्न सुरक्षा सक्रियता
 
बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।  
 
उनले भारतमा कोरोना सङ्क्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम कम गर्न भारत आवागमनमा रोक लगाइएको बताए । मुख्य नाकाबाहेक ग्रामीण क्षेत्रका खुला नाकाबाट समेत आवागमन हुन नदिन सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट र नेपाल प्रहरीका चौकीमा कार्यरत सुरक्षाकर्मीलाई फिल्डमै पुगेर निर्देशन दिएको उनको भनाइ छ । 
 
उनका अनुसार बिहीबार मात्रै जिल्लास्थित सुरक्षा अधिकारीको टोलीले बाँकेको जानकी गाउँपालिकामा पर्ने नेपाल–भारत बढैया सीमानाकाको अवलोकन गरेको छ । अवलोकनका क्रममा सीमानाकामा कार्यरत सुरक्षाकर्मीलाई निर्देशन दिनुका साथै कोरोना सङ्क्रमण रोकथामका सन्दर्भमा भारतीय सुरक्षा बलका अधिकृतसँग छलफलसमेत भएको छ ।
 
बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले खुला सिमानाका कारण भारत–नेपाल हुनसक्ने अवैध आवागमनलाई रोक्न हरसम्भव प्रयास भइरहेको बताए । खासगरी राप्तीपारिको नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका खुला सीमानाका र जानकी गाउँपालिकाको साइगाउँ नाकामा हुनसक्ने आवागमन रोक्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई परिचालन गरिएको उनको भनाइ छ । 
 
कोरोना सङ्क्रमण र मृत्युको सङ्ख्या दैनिकरूपमा बढ्न थालेसँगै बाँकेको जमुनाह सीमानाकासँगै  ग्रामीण क्षेत्रमा रहेका भित्री नाकामा समेत आवतजावतमा कडाइ गरिएको छ । बाँकेको ६५ किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सशस्त्र प्रहरी बलले सीमानाकामा गरेको कडाइ पछि जमुनाहनाका सुनसान बनेको छ । 
 
अनावश्यकरूपमा गरिने आवतजावतलाई पूर्णरूपमा बन्देज गरिएको छ । नेपालगञ्जस्थित मूलनाका जमुनाहबाट अहिले अतिआवश्यक औषधि उपचारबाहेक भारत जान रोक लगाइएको छ । 
 
जमुनाहनाकासहित भित्री बाटोहरुमा समेत सशस्त्र प्रहरीले ब्यारिगेट निर्माण गरेर आवतजावतमा कडाइ गरेको सशस्त्र प्रहरी बोर्डर अफ पोष्ट जमुनहाका सशस्त्र प्रहरी निरीक्षक जीबलाल बुढाले बताए ।