मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोभिडविरुद्ध सरकार र जनताको हातेमालो जरुरी : उपप्रम पोखरेल

कोभिडविरुद्ध सरकार र जनताको हातेमालो जरुरी : उपप्रम पोखरेल


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताएका छन् । 
 
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक उनले सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “म नागरिकलाई अपिल गर्न चाहन्छु, सिङ्गो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ, त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ, हामी आफैँ जवाफदेही भएर अगाडि बढ्न जरुरी छ ।”
 
सरकारले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरिएन्टसहितको कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी दिँदै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए । 
 
“कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो, यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न”, उनले भने, “आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौँ, जनताले पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ, जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।”
 
उपप्रधानमन्त्री पोखरेलले सङ्कटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामग्रीलगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी दिए । यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनले बताए । 
अठार लाखभन्दा बढीलाई कोरोनाको खोप लगाइसकिएको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । रासस