काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् ।
सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए । आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ । पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा ।” अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उनले थपे, “कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखापाखा हुन दिँदैनौँ । एकताबद्ध बनाउँछौँ । सही विचारको पक्षमा उभिने बनाउँछौँ ।”
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।”
आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उनले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताए । उनले भने, “पार्टी विभाजन भएको छैन । लचिलो बन्नु प¥यो भन्ने कुरा हो ।”
कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उनको भनाइ थियो । समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उनले बताए । पार्टीभित्रको समस्या के हो ? कार्यकर्ताको भावना के हो भन्ने बुझ्न जरुरी रहेको उनको जिकिर थियो । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारबाही जायज नभएको नेता नेपालले दाबी गरे ।
प्रतिक्रिया