मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकदिनमा तीन लाख ५२ हजार बढी कोरोना सङ्क्रमित

भारतमा एकदिनमा तीन लाख ५२ हजार बढी कोरोना सङ्क्रमित


नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ ।  
 
त्यसैगरी यहाँ गएको २४ घन्टायता दुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।
 
यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ । भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४३ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् ।  गत २४ घन्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन्  । 
 
कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । 
 
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड १९ लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलि नै रहेको छ ।  
 
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।   
 
भारतमा  सोमबार मात्रै १४ लाख २ हजार ३६७ जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । 
 
अप्रिल २५ सम्म कूल २७ करोड ९३ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ । भारतको राष्ट्रिय राजधानी दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । सिन्ह्वा