मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोभिडको संक्रमण बढ्दै, निगरानी र सावधानीमा चासो कम

कोभिडको संक्रमण बढ्दै, निगरानी र सावधानीमा चासो कम


काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ ।
 
स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन ।
 
काठमाडौँमा प्राध्यापन गर्दै आएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको र कार्यान्वयन गर्ने निकायको प्रस्तुति पनि कमजोर रहेको पाइएको बताउँछन् । जबसम्म प्रहरीको सक्रियता कम हुन्छ तबसम्म सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ गरिरहने प्रवृत्ति पुरानै हो । त्यसैले पनि सुरक्षाकर्मीले भूमिका बढाउनुपर्नेमा जनस्वास्थ्यविद्को सुझाव छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाट ननिस्कन सार्वजनिक अनुरोध गरिसकेको छ । मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतम आफूबाहेक सबैमा कोरोना छ भन्ने सोचेर सावधानी अपनाउन आग्रह गरे ।
 
काठमाडौँका विभिन्न क्षेत्रमा आज घुम्दा कतिपय मानिस कोभिड–१९ बाट बच्ने सावधानीका उपाए थाहा हुँदाहुँदै पनि पालनामा ध्यान नदिइएको पाइएको छ । विगतमा सङ्क्रमणको अवस्था र त्यसबाट उत्पन्न परिस्थितिबारे जानकार भएकाले पनि उनीहरुमा चासो कम रहेको अनुभव सुनाएका छन् । काठमाडौँको रत्नपार्कमा मास्क नलगाई बसेका एक बटुवा कोरोना भनेको यस्तै त हो, जस्तो लागेर आफूले मास्क नलगाउने गरेको बताए ।
 
मुख्यगरी सरकारले शहरी क्षेत्रका महानगर, नगरपालिकामा भर्चुअल कक्षा चलाउने, सिनेमा हलजस्ता भीडभाड हुने क्षेत्र वैशाखभर बन्द गर्ने, विवाहजस्ता कार्यमा २५ भन्दा बढी सहभागी हुन नपाउने, होटल रेष्टुरेन्ट बिहान ८ः०० देखि राति ८ः०० बजेसम्म मात्रै चलाउन पाइने, गाडीमा सिट क्षमतानुसार मात्रै यात्रु राख्न पाइने र सबै स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेलगायतका निर्णय गरेको थियो । सोहीअनुसार केही निर्णय कार्यान्वयनमा आएपछि सार्वजनिक स्थानमा हुने भीडभाड र नागरिकले व्यक्तिगतरूपमा अपनाउनुपर्ने सावधानीका विषयमा भने गम्भीर हुनसकेको देखिएको छैन ।
 
किनमेल गर्ने क्षेत्र होस् या तरकारी बजार मास्क नलगाई हिँड्नेसमेत देखिएका छन् । ठाउँठाउँमा हात धुनका लागि बनाइएका धारा कतिपय ठाउँमा हटाइएको छ भने भएका पनि राम्ररी प्रयोग हुनसकेको छैन । सरकारी आदेश कार्यान्वयनमा लाग्नुपर्ने सुरक्षाकर्मीको फितलो निगरानी देखिएको छ । यद्यपि नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निगरानी बढाएको बताउँछन् ।
 
काठमाडौँ प्रशासनले आदेको बेवास्तालाई पुष्टि गर्दै पुनः अर्को सूचना जारी गरी त्यस्ता गतिविधि रोक्न भनेको छ । सरकारी तथा सार्वजनिक निकाय तथा निजी एवं गैरसरकारी संस्थाले विभिन्न सभा–सम्मेलन तथा सेमिनार गरिरहेको भन्ने गुनासा आएकाले त्यस्ता गतिविधि भर्चुअलरूपमा गर्न प्रशासनले अनुरोध गरेको छ ।
 
हात धुने बानी घट्यो
 
सर्वसाधारणमा हातधुने बानीसमेत घट्टै आएको छ । गत वर्ष यो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमणले गति लिन थाल्दा ठाउँठाउँमा हात धुनका लागि ट्याङ्कीको व्यवस्था गरिएको थियो भने त्यसको प्रचारप्रसारलाई तीव्रता दिइएको थियो । प्रहरी र स्थानीय तहले माइकिङ नै गरेर सावधानी हुन सार्वजनिक आह्वान गरेको थियो । अहिले गत वर्ष राखिएका ती कतिपय ट्याङ्की निकालिएका छन् भने कतिपय ठाउँमा भएका ट्याङ्की न्यून प्रयोग भइरहेको छ । काठमाडौँको मैतीदेवीमा राखिएको ट्याङ्की हटाइएको छ । अन्य स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्ने क्रम पनि धेरै घटेको छ ।
 
अहिले मुलुकभर सङ्क्रमणदर दैनिकरूपमा बढ्दो छ । मन्त्रालयका अनुसार बुधबार सङ्क्रमण बढेर दुई हजार ३५१ पुगेको थियो । त्यसको अघिल्लो दिन मङ्गलबार एक हजार ७३६ सङ्क्रमित थपिएका थिए । सोमबार वैशाख ६ मा एक हजार २८१ र ५ गते एक हजार ९६ मा सङ्क्रमण देखिएको थियो ।
 
सङ्क्रमणको दर क्रमशः उकालो लाग्दै जाँदा उपत्यकामा गति बढ्दो छ । बुधबारको सङ्क्रमितमध्ये झण्डै आधा काठमाडौँका रहेकाले अबको सङ्क्रमण उपत्यकामा बढ्ने देखिएको छ । उपत्यकामा सोहीअनुसारको तयारी भने हुनसकेको छैन । स्थानीय प्रशासनले विशेष सूचना जारी गरी सतर्कता अपनाउन भने पनि त्यो कार्यान्वयन हुनसकेको देखिँदैन ।
 
ट्राफिकले थाल्यो गाडीको अनुगमन
 
प्रहरीको निगरानी कमजोर भइरहेको जनगुनासोका बीच आजदेखि भने महानगरीय ट्राफिक प्रहरीले यातायातका साधनले मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन शुरु गरेको छ । उसले उपत्यकाका विभिन्न २० स्थानमा टोली परिचालन गरी अनुगमन थालेको हो । आदेश पालनामा बेवास्ता गरेको पाइए सङ्क्रामक ऐन २०२० अनुसार कारवाही गरिने महाशाखाले जनाएको छ ।
 
काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकलाई मास्क तथा भाइजर अनिवार्य रुपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाइ आएमा बढीमा रु १० लिई उपलब्ध गराउन र मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गर्न तथा सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।
 
लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन नपाउने तथा यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउनुपर्ने गरी विशेष सूचना जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् । रासस