मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतका पूर्वप्रधानमन्त्री सिंह कोरोनाभाइरसबाट सङ्क्रमित

भारतका पूर्वप्रधानमन्त्री सिंह कोरोनाभाइरसबाट सङ्क्रमित


नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेतासमेत रहेका सिंहलाई ‘अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ । उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । 
 
“पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । 
 
कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै पौने तीन मानिस सङ्क्रमित हुने गरेका छन् । 
 
भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । 
 
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएकोे छ  । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको छ । 
 
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई
 
पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।
 
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
 
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको ‘स्पुत्निक–भी’ भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
 
सरकारले सवै बयस्कहरुलाई मे महिनादेखि खोप लगाउन थाल्ने भएको छ । यसअघि प्राथमिकता क्रममा परेकाहरुलाई खोप लगाउदै आएकोमा अव बयस्कहरु सवैलाई खोप लगाइने भएको हो ।  
 
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले १८ बर्षभन्दा माथिका सवै व्यक्तिलाई मे महिनाको पहिलो दिनदेखि खोप लगाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एएनआई