मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन् । 
 
सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा आइतबार गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उनले भने । 
 
गौतम बुद्ध जन्मेको देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति अघि बढाइएको ज्ञवालीले सुनाए । “शान्ति हाम्रो परराष्ट्र नीतिको अभिन्न अङ्ग हो, हामीले संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विश्वका अन्य देशमा समेत शान्ति कायम गर्न चाहेका छौँ”, मन्त्री ज्ञवालीले भने । 
 
नेपालले सधैँ हातहतियार निशस्त्रीकरणका लागि जोड दिँदै आएको र यसमै नेपालको विदेश नीति केन्द्रित रहेको उनको भनाइ थियो । परराष्ट्र नीतिमा जलवायु परिवर्तनलाई विषेश प्राथमिकतामा राखेको मन्त्री ज्ञवालीले सुनाए । 
 
आन्तरिक नीतिको विस्तारित नीति नै परराष्ट्र नीति भएको मन्त्री ज्ञवालीको भनाइ थियो । “आर्थिक कूटनीतिमा जोड दिएका छौँ, लगानी र पर्यटन प्रवद्र्धन मुख्यरुपमा अघि बढाएका छौँ”, उनले भने । 
 
झण्डै ५० लाख नेपाली विदेशमा रहेको सुनाउँदै मन्त्री ज्ञवालीले दक्ष र बौद्धिक जनशक्ति रहेकाले त्यसलाई नेपालको हितमा उपयोग गरिने स्पष्ट पारे । परराष्ट्र सम्बन्ध राम्रो बनाउनमा सबै तह र तप्काको भूमिका आवश्यक हुने उनले उल्लेख गए । 
 
पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने बताए । “सत्तामा छँदा होस् वा बाहिर रहँदा होस् विदेश नीति सबैको एउटै हुनुपर्छ”, उनले भने । 
 
परराष्ट्र नीति सार्वजनिक गरे पनि सरकारले सबै निकायसित आवश्यक छलफल र परामर्श नगरेकामा उनले परराष्ट्रमन्त्री ज्ञवालीसमक्ष आपत्ति प्रकट गरे । “परराष्ट्र नीतिबारे सबैसित गहनरूपमा छलफल गरिनुपर्छ”, नेपालले भने । 
 
समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले नेपालको परराष्ट्र नीति बेलाबेलामा परिवर्तन हुँदै आएको र अबका दिनमा त्यस्तो हुन नहुने बताए । उनले सन्तुलनको कूटनीति आवश्यक भएको उल्लेख गरे । राणाकालीन अघिको सन्तुलित नीतिबारे सरकारद्वारा जारी परराष्ट्र नीतिमा उल्लेख नगरिएकामा कार्कीले आपत्ति प्रकट गरे । “सरकारले जारी गरेको परराष्ट्र नीति परिस्कृत र परिमार्जन गरिनु आवश्यक छ”, उनले भने । 
 
समितिका अर्का सदस्य दिव्यमणि राजभण्डारीले बाह्य सम्बन्धबारे सबै पार्टीको धारणा एउटै हुनुपर्ने बताए । सबैको अनुभव समेटेर परराष्ट्र नीति बनाउनुपर्नेमा उनले जोड दिए । यस्तै समतिका सदस्य मोहन बानियाँले सरकारैपिच्छे फरकफरक परराष्ट्र नीति हुन नहुनेमा जोड दिए । 
 
समितिका अर्का सदस्य डा दीपकप्रकाश भट्टले परराष्ट्र नीतिबारे विस्तृतरूपमा छलफल आवश्यक भएको बताए । “विभिन्न कालखण्डमा विभिन्न काम भए, व्यवस्था फेरिए त्यो फरक कुरा हो, कोहीलाई कुनै व्यवस्था मन प¥यो, कोहीलाई मन परेन, तर त्यसबेला अपनाइएको उचित परराष्ट्र नीति अबका दिनमा पनि अवलम्बन गरिनुपर्छ”, उहाँले भन्नुभयो । सरकारले जारी गरेपनि परराष्ट्र नीतिबारे सांसदहरु नै अनविज्ञ रहेको उनको भनाइ थियो । उक्त छलफलमा समितिका सदस्यहरू प्रेमलाल तुलाचन र रेनुका गुरुङलेसमेत छलफलमा भाग लिएका थिए । बैठकको अध्यक्षता समितिका सभापति पवित्रा निरौला खरेलले गरेकी थिइन् । रासस