मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् । 
 
नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको विमोचन गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट गरे । 
 
“सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्, माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएसम्म वर्तमान सरकार बहुमतमै छ”, उनले भने । माओवादीले अविश्वासको प्रस्ताव फिर्ता लिएमा कांग्रेसले सरकार गठन गर्न अग्रसरता लिने उनको भनाइ थियो । सभापति देउवाले संस्कृतिसम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्त्वपूर्ण, पठनीय र सङ्ग्रहणीय भएको पनि बताए । 
 
कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज÷अनुसन्धान अझै गरिनुपर्ने बताए । 
 
कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले  विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकै ठाउँमा उतार्नु भनेको चानचुने कुरा नभएको जनाउँदै यस्तो महत्त्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको पाठ्यक्रममा स्थान दिनुपर्ने सुझाव दिए । 
 
लेखक श्रेष्ठको पुस्तकमा आठपहरिया, राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारू, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार तथा संस्कृतिका विषयमा अनुसन्धानमूलक लेख रहेका छन् । पाँच सय १२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो । रासस