मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिसीएमसी बैठक : स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सुझाव पेश

सिसीएमसी बैठक : स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सुझाव पेश


काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोनाको नयाँ प्रजाति रोकथाम, नियन्त्रण र उपचार गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी राय, सुझावसहित परिमार्जन गरेको छ ।
 
कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमण अलि भिन्न र छिटो फैलन सक्ने भएकाले रोकथामलाई कसरी व्यवस्थित र चुस्त तुल्याउने भन्ने सन्दर्भमा मन्त्रालयको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल गरी राय, सुझाव दिएको सचिव खगराज बरालले जानकारी दिए ।
 
उनले भने, “अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालनालाई बढी प्रभावकारी तुल्याउन आवश्यक छ, रोकथाम र नियन्त्रणका लागि जनचेतना जागरणका कार्यक्रमलाई थप प्रभावकारी तुल्याउनुपर्छ भन्नेमा सबैको जोड छ ।” बैठकमा कोरोना रोकथामका लागि टोल, समुदाय, स्थानीय तह र प्रदेशलाई आ–आफ्ना कार्यक्षेत्रभित्र जनचेतना जागरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिन उचित हुने रायसमेत प्रस्तुत गरिएको थियो । 
 
विद्यालयको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा विगतको जस्तो समग्र एकैखाले नभई कोरोनाको सङ्क्रमण जोखिम बढी देखिएका स्थानमा तत्कालका लागि शिक्षा मन्त्रालयबाट जारी भएको अनलाइनलगायतका वैकल्पिक सिकाइका ढाँचा र विधिमार्फत पठनपाठनको व्यवस्था गर्न उचित हुनसक्छ भन्ने पाटोबाट गम्भीर छलफल भएको सचिव बरालले जानकारी दिए ।
 
उनले भने, “तर यो विषयमा निर्णय हुन भने बाँकी नै छ, मन्त्रिपरिषद्बाट निर्णय भई आदेश जारी भइसकेपछि मात्र विद्यालय सञ्चालन र सिकाइका वैकल्पिक ढाँचा लागू हुनेछ ।” कोरोना नियन्त्रण, रोकथाम, उपचार र यससँग सम्बन्धित कार्यका लागि निर्णय गर्ने अधिकार स्थानीय तह र स्थानीय प्रशासनसमेतलाई दिनुपर्छ भन्नेमा बैठक मतैक्यता रहेको तथा प्रवेश विन्दुमा नै सङ्क्रमण रोकथामका कदमलाई प्रभावकारी तुल्याउनुपर्छ भन्ने तर्क पनि गरिएको थियो ।
 
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिव तथा विज्ञहरुको समेत सहभागिता थियो । रासस