मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष दाहाल

सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष दाहाल


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन् । 
 
अखिल नेपाल शिक्षक सङ्गठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को आज उद्घाटन गर्दै उनले जनताको एजेण्डा बोकेका कारण आफूहरूलाई जनताको साथ प्राप्त भएको उल्लेख गरे ।
 
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूको कारणले आएको स्पष्ट पारे । अध्यक्ष दाहालले ठूलो सङ्घर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको पनि बताए । 
 
आफूहरू यतिबेला सरकार गठन, पुनःगठनको प्रक्रियामा रहेको उनको भनाइ थियो । उनले भने, “हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुङ्गियो ? तपाईंहरूले थाहा पाइसक्नुभएको छ । अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।”
 
अध्यक्ष दाहालले भने, “लुम्बिनीमा पनि सरकार परिवर्तनका लागि करिब–करिब बहुमतको हस्ताक्षर सङ्कलन भइसकेको छ । अब केन्द्रमा यो अन्योलता र अराजकताको स्थिति अन्त्य गर्नका लागि हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौँ । म यहाँबाट त्यही प्रक्रियामा सामेल हुन बैठकमा जाँदै पनि छु ।”
 
जनयुद्धको सुरुआत ६५ जनाबाट भएको स्मरण गर्दै उनले १० वर्षको अवधिमा देशमा राजनीतिक परिवर्तन भएको बताए । माओवादीप्रति भ्रम फैलाउने काम भइरहेको भन्दै उनले कोही भ्रममा पर्न आवश्यक नरहेको पनि बताए । माओवादीप्रति जनतामा विश्वास नटुटेको उनको भनाइ थियो । 
 
अध्यक्ष प्रचण्डले भने, “केही मानिसले माओवादी सिद्धियो, प्रचण्ड सिद्धियो भनेर भ्रम छर्ने काम गरेका छन् । दिग्भ्रमित पार्ने काम भएको छ । जनतामा त्यस्तो छैन ।” आफूले देशका विभिन्न स्थानमा जनताको अपार माया पाएको उल्लेख गर्दै उनले भने, “हाम्रो मुद्दाप्रति जनताको विश्वास र भरोसा टुटेको हो त ? तल जाँदा जनतामा त्यस्तो पाइनँ । किन हाम्रो नेतृत्व हामीकहाँ आउँदैन ? भनेर गुनासो रहेछ ।” रासस