नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना महामारी थप फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको महामारी तीव्ररूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
“कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फर्यु लगाउनुपर्ने निष्कर्षमा हामी पुगेका हौँ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने । सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे ।
गत बुधबारमात्रै दिल्लीमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका थिए । सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना सङ्क्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । तीमध्ये ५० हजार ७३६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाइएको छ । सरकारी अधिकारीहरुका अनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ ।
भारत देशभरी भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी सुरु भएयता एकदिनमा २ लाखभन्दा बढी संङ्क्रमित भएको बुधबार पहिलो पटक हो ।
यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजारभन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।
पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाखभन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् । एएनआई
प्रतिक्रिया