मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रधानमन्त्री ओली

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नु रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गरे ।
 
“नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो”, प्रधानमन्त्री ओली भन्नुभयो, “जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।” उनले  नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताए ।
 
प्रधानमन्त्री ओलीले नागरिक सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मकरूपमा असर परे पनि कम क्षति भएको बताए । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सरकार सफल भएको उल्लेख गरे ।
 
“हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह  छैन”, प्रधानमन्त्री ओलीले भने, “अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस अवधिमा ठूला सफलताहरू प्राप्त गरेका छौँ ।” 
 
विसं २०७७ मा देशका विभिन्न स्थानमा ठूला क्षमताका सभागृहहरू निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेको जानकारी दिए । 
 
जनतामा आशा जागेको छ
 
प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको दाबी गरे । “जनताको आशा जगाउने काम हामीले गरेका छौँ, भविष्यमा आशा र विश्वास जनाउने  काम लगातार गर्दै जाने छौँ ”, उनले भने, “प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन्, विभिन्न सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ ।” 
 
उनले महिनाको रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको रु १०० मा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ गतेबाटै सुरु गरेकोसमेत उनले बताए ।
 
देशका पूर्वदेखि पश्चिमसम्म पुलहरू निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग तीव्रतर ढङ्गले बनिरहेको बताए । उनले मदनभण्डारी राजमार्ग निर्माण तीव्र रहेको, पूर्वपश्चिम राजमार्ग चौडा बनाउने काम भइरहेको र हुलाकी राजमार्ग केही ठाउँमा मात्र निर्माण बाँकी रहेको सुनाए ।  
 
पुनः निर्माणमा असाधारण काम
 
प्रधानमन्त्री ओलीले भूकम्पपछि बनेको पुनः निर्माण प्राधिकरणले पुनः निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाएको बताए । “रानीपोखरी शिलान्यास गरिसक्यो, धरहरा यही महिनाको ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिक माथि जान सक्ने र माथिबाट काठमाडौँको दृश्यवालोकन गर्न सकिने गरी निर्माण हुँदैछ”, उनले थपे । नयाँ हवाई मैदानको स्तरन्नोति र रात्रि सेवा सञ्चालन गरी त्रिवि विमानस्थलमा झर्ने बित्तिकै नयाँपनको अनुभूति दिने खालका विविध काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।
 
प्रतिकूलताका बीचमा पनि थुप्रै विद्यालयहरू बनेको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको नवनिर्माण भएको तथा यही ६ गते पाटन ढोकामा जापानको सहयोग उच्च माध्यमिक विद्यालय उद्घाटन गर्ने तयारी रहेको जानकारी दिए ।
 

शेयर गर्नुहोस:

270
Shares