चितवन । चितवन निकुञ्जसहित देशभरका निकुञ्जहरुमा गैँडा बढेको खुसियालीमा पर्यटकीय नगरी सौराहामा दीप प्रज्ज्वलन गरिएको छ ।
स्थानीय सरकार, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीप प्रज्ज्वलन गरेका हुन् ।
पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिंगैको संख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन उर्जा प्रदान गरेको व्यवसायी तथा संरक्षणकर्मीहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गैँडाको संख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको बताए ।
‘गैँडा संरक्षणमा हामी सबैले गरेको प्रयास सफल भएको छ’, उनले भने, ‘गैँडालाई जोगाउन सबैले सहकार्य गर्नुपर्छ ।’ कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बलराम दाहालले पर्यटन सौराहाको पर्यटन वन्यजन्तुमा निर्भर हरेकाले पर्यटनको मुख्य आधार नै एकसिंगे गैँडा रहेको बताए ।
वडा नं ७ का वडाध्यक्ष राजन भट्टले दुःख गरेर जोगाएको गैँडा उपहारका नाममा अन्य मुलुकलाई दिने चलनको अन्त्य हुनुपर्ने बताए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले गैँडाको संख्या वृद्धिले सौराहावासीलाई उत्साहित बनाएको भन्दै यसको संरक्षणमा अझ सक्रियता आवश्यक रहेको बताए ।
गणनाको क्रममा निकुञ्जको पूर्वी सेक्टरमा गैँडाको संख्या वृद्धि भएको पाइएकोले अब आहार र बासस्थान संरक्षणमा काम गर्नुपर्ने बताए ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले वृद्धि भएका गैँडा जोगाउन उत्तिकै चुनौती रहेको भन्दै यसका लागि चौतर्फी सहकार्यको आवश्यकता औँल्याए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनको संयोजनमा क्षेत्रीय होटल संघ, रेवान, रेवान महिला समूह, सौराहा जेसिज, सौराहा लेडी जेसिज, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र नेचर गाइड एसोसिएसनले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।








प्रतिक्रिया