मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला


रत्ननगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई ल्याउने दाबी गरेका छन् । 

नेपाली कांग्रेस रत्ननगर नगरसमितिको आयोजनामा भएको भित्तेपात्रो विमोचन कार्यक्रममा नेता कोइरालाले कम्युनिस्टप्रति वितृष्णा बढ्दै गएकाले अबको निर्वाचनमा कांग्रेसले दुई तिहाइ ल्याउने दाबी गरेका हुन् । 

कम्युनिस्टको सरकारले जनतालाई निरास बनाउने काम गरेको भन्दै कांग्रेसले मात्र देशमा निकास दिने बताए । नेता कोइरालाले अबको निर्वाचन कांग्रेसका विरासत फर्काउने उपयुक्त माध्यम हुने बताए ।

त्यसका लागि नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । सबै आ–आफ्नो स्थानबाट इमान्दार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने दाबी गरे ।

अर्को एक प्रसङ्गमा नेपाल कृषिप्रधान देश भएकोले नेपाली कांग्रेसले आफ्नो सरकार बनाएर अब युवाहरुलाई लक्षित गरी कृषि कार्यमा जोड दिने बताए । बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको स्मरण गर्दै उनले नेपालमा १७ लाख हेक्टर जमिन कृषियोग्य भएको हुँदा आधुनिक कृषि प्रणालीअनुसार युवाहरुलाई देशमा नै बस्ने वातावरण तयार गर्न सरकार लाग्ने बताए ।

कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठले वडा तहदेखि नै सबैले मनभित्रको तिक्तता फालेर पार्टी बलियो बनाएर जानुपर्ने बताए । चितवन जिल्लाले पार्टीले केन्द्रबाट गरेको निर्देशन पालना गर्दै आएको र कुनै पनि बहानामा पार्टी अधिवेशनको समय अब सार्न नमिल्ने भन्दै केन्द्रमा पनि दबाब दिन पार्टीका महामन्त्रीलाई आग्रह गरे ।

कार्यक्रमका सभापति रुपनराज घिमिरेले वर्षभरि नेपाली कांग्रेस नगर समितिको आयोजनामा भएको कार्यक्रम समावेश गरेर पात्रो प्रकाशित गरिएको बताए ।

अघिल्लो वर्ष कोभिडका कारण भित्तेपात्रो विमोचन गर्न कठिनाइ भएको भन्दै बिना कुनै विज्ञापन कार्यक्रमको जानकारी दिने उद्देश्य राखेर पात्रो विमोचन हरेक वर्ष गर्दै आएको र त्यसैको निरन्तरता दिन यस वर्ष पनि आयोजना गरिएको बताए ।

स्वागत मन्तव्य राख्दै घिमिरेले रत्ननगरमा हुने हरेक क्षेत्रमा कांग्रेसको प्रतिनिधित्व बढाएर लैजाने विषयमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति कैलाश कोइराला, जिल्ला सचिव उत्तम आचार्य, राजीव न्यौपाने, सहसचिव सूर्य अर्याल, जिल्ला प्रवक्ता निता ढकाल, क्षेत्रीय सभापति राजु सिलवाल, निवर्तमान क्षेत्रीय सभापति कुमार कार्की, पूर्वक्षेत्रीय सभापति नन्दराम कँडेल, महासमिति सदस्य तथा प्रतिनिधिसभा उम्मेद्वार राजेन्द्रप्रसाद बुर्लाकोटी, महासमिति सदस्य सुशीला उप्रेती, जिल्ला सदस्य दिवाकर अर्याल, पूर्वनगर सभापति महेशप्रसाद रौनियार, महाधिवेशन प्रतिनिधि विजय ओझालगायत अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।