चितवन । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि चितवनमा नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी नेपाल (माधव समूह)को संयुक्त प्यानल चुनावी मैदानमा होमिने निर्णय भएको छ ।
युनियन, संगठन र चौतारी (माधव समूह) बीच सहकार्य गर्ने निर्णय भएसँगै शनिबार एक समारोहबीच संयुक्त प्यानलको उमेदवारी घोषणा भएको हो । केन्द्रीय नीति तथा निर्देशनअनुसार चितवनमा नेपाल प्रेस युनियनको नेतृत्वमा संयुक्त प्यानल निर्वाचनमा होमिएको हो ।
प्रेस स्वतन्त्रता र पत्रकारका हकहितका पक्षमा लागिपरेका उमेदवारलाई जिताउन प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठनका अध्यक्ष प्रकाशमणि ज्ञवाली र प्रेस चौतारी नेपाल (माधव नेपाल समूह)का संयोजक टीकादत्त तिमिल्सिनाले आह्वान् गरेका छन् ।

साझा प्यानलअन्तर्गत नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा उमेदवारी घोषणा गरिएको हो । जसमा उपाध्यक्षमा प्रकाश ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा अनिल ढकाल, खुल्ला सहसचिवमा टीकादत्त तिमिल्सिना, समावेशी सहसचिवमा उर्गेन तामाङ र कोषाध्यक्षमा राजेन्द्र आचार्य रहेका छन् ।
त्यस्तै महिला सदस्यमा शोभा पुडासैनी, जनजाति सदस्यमा तुलमान गुरुङ, दलित सदस्यमा एलिना पोखरेल, मधेसी सदस्यमा सरिता महतो शाह रहेका छन् । यसैगरी खुल्ला सदस्यहरु विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, बबिलाल तामाङ, रामु आचार्य, ज्ञानेन्द्र तामाङ र बसन्त ढुङ्गाना रहेका छन् ।
लोकतान्त्रिक, प्रगतिशील, समावेशी र श्रमजीवी पत्रकारहरुको साझा प्यानलको रुपमा उमेदवारहरु घोषणा गरिएको पत्रकार वसन्त पराजुलीले बताए । सो प्यानलमा माडीदेखि टाँडी र राप्तीदेखि भरतपुरसम्मका लोकतान्त्रिक, प्रगतिशील, समावेशी र श्रमजीवी पत्रकारहरुको सहभागिता रहेको छ ।
सो प्यानलमा क्रान्तिकारी पत्रकार महासंघ तथा विभिन्न स्वतन्त्र पत्रकारहरुको समेत समर्थन रहेको छ । कार्यक्रममा पत्रकार सुरेशचन्द्र अधिकारीले सबै क्षेत्र, समुदाय र समावेशी प्रतिनिधित्व रहेकाले यो प्यानलले चुनाव जित्ने जिकिर गरेका छन् । उनले सो प्यानलबाट इमान्दारितापूर्वक आफ्ना उमेदवारलाई भोट दिन आग्रह गरे ।












प्रतिक्रिया